सगरमाथा आरोहरणमा विश्व कीर्तिमान कायम राखेका कामिरिता शेर्पा ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त

काठमाडौं : सगरमाथाको २४ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामिरिता शेर्पा ‘हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल’ कम्पनीको प्रमुख ‘एड्भेञ्चर कन्सल्टेन्ट’ तथा ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त हुनुभएको छ । सोसम्बन्धी सम्झौतापत्रमा  आरोही शेर्पा र कम्पनीका अध्यक्ष सागर पाण्डेले हस्ताक्षर गर्नुभयो । सम्झौतानुरुप कामिरिताले आगामी दुई वर्षसम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा ‘बेस क्याम्प’, ‘आइल्याण्ड पिक’ र ‘किलिमञ्जरो’को साहसिक यात्राका सम्बन्धमा प्रमुख परामर्शदाताका रुपमा भूमिका खेल्ने र अन्तरराष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्नुहुनेछ ।

सो अवसरमा कीर्तिमानी आरोही शेर्पाले आफूलाई विभिन्न विदेशी कम्पनीबाट पनि प्रस्ताव आएको तर नेपालको कम्पनीमा नै काम गर्न र ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी लागेको बताउनुभयो । कम्पनीका अध्यक्ष पाण्डेले विश्व कीर्तिमानी शेर्पालाई कम्पनीको ब्राण्ड एम्बेसडरको जिम्मेवारी दिनु गर्वको विषय भएको उल्लेख गर्नुभयो ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार ११:०४