कोरिया भाषा परीक्षामा सहभागी भएबापत नै बाहिरियो एक अर्ब २६ करोड

काठमाडौं : कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्। यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ। भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लाग्छ।

‘परीक्षामा सहभागी हुनेबाट बुझाइएको रकम नेपालमा राख्न मिल्दैन, त्यो सबै कोरिया पठाउनुपर्छु, ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले भन्नुभयो, ‘हामीले पैसा पठाएपछि परीक्षा सञ्चालनका लागि २५ प्रतिशत खर्च उतैबाट आउँछ।’ कोरियाको परीक्षा शुल्कबापत रकम बाहिरिने क्रम प्रत्येक वर्ष बढिरहेको छ। ईपीएसले पहिलो पटक परीक्षा लिँदा ७ लाख ५६ हजार डलर बाहिरिएको थियो।

यस पटक २२ लाख १७ हजार डलर पुगेको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। भाषा परीक्षामा उत्तीर्ण हुने सबै विद्यार्थी कोरिया जान पाएका छैनन्। हालसम्म भाषा परीक्षामा उत्तीर्ण भएका १० हजार नेपाली कोरिया जानबाट वञ्चित भएका छन्। परीक्षार्थीले परीक्षा शुल्क महँगो भएको बताउँदै आएका छन्। शुल्क महँगो भयो भन्ने गुनासो छ, यसबारे हामीले मन्त्रालयमा लेखेर पठाइसकेका छौं, उहाँले भन्नुभयो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०७:५६