तरकारी आयात अझै ठप्प

झापा: असार दोस्रो साता सरकारले भारतीय कृषि उत्पादनको विषादी परीक्षण नगरी आयात गर्न नदिने निर्णय गरेपछि हालसम्म काँकडभिट्टा नाका हुँदै भित्रने तरकारीको आयात रोकिएको छ । तरकारी छोटो समयमा सड्ने भएका कारण व्यवसायीले जोखिम लिन नचाहेकाले आयात रोकिएको हो । गतवर्षको जेठ र असारमा काँकडभिट्टा नाकाबाट ५४ लाख ७१ हजार ५९ किलोग्राम तरकारी आयात भएको थियो । यो १० करोड ९२ लाख ८४ हजार ७ सय ६९ रूपैयाँ बराबरको तरकारी हो । यस वर्षको साउनसम्ममा ४७ लाख ७० हजार ३९३ किलोग्राम तरकारी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । १० करोड ८० लाख ३९ हजार ९४० रूपैयाँको तरकारी आयात भएको देखिन्छ । यस वर्षको तथ्यांक विषादी प्रयोग गरिएको भन्दै नाकाबाट तरकारी फिर्ता गर्नुभन्दा पहिलेको हो । परीक्षणको हल्लापछि भने तरकारी आयात ठप्प प्रायः छ ।

अहिले काँकडभिट्टा नाकाबाट ‘पर्वल’ मात्र आयात भइरहेको संलग्न व्यवसायीले बताएका छन् । मेची भन्सारका एजेन्ट बालकृष्ण थापा तरकारीको सिजन नभएकाले तरकारी आयात रोकिएको बताउँछन् । विगतका वर्षमा यस सिजनमासमेत तरकारी आयात नहुने गरेको उनले बताए । तर, प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्राविधिक सहायक विनयकुमार साह भने व्यापारीले तरकारी आयात गर्नै नचाहेको बताए । उनले विषादी परीक्षण गरेपछि मात्र तरकारी आयात गर्ने निर्णयका कारण असार तेस्रो साता लाखौं मूल्यको तरकारी नष्ट गर्नु परेकाले पनि तरकारी आयात गर्न व्यवसायीले आनाकानी गरेको बताए । काँकडभिट्टा नाकाबाट तरकारी आयात गर्न समस्या नरहेको साहको भनाइ छ ।

१६ किलोमिटरको दुरीमा पर्ने बिर्तामोडको कृषिथोक बजारमा रहेको विषादी परीक्षण प्रयोगशालामा परीक्षण गर्न सहज हुने भएकाले तरकारी आयातमा समस्या नरहने उनी बताउँछन् । केही दिन नाकामा तरकारी बोकेका ट्रक रोकिएपछि भारतीय दूतावासले नेपाल सरकारलाई चेतावनीयुक्त पत्र पठाएको थियो । दूतावासको पत्रपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ६ महिनाका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो । एकै पटक ठूलो परिमाणमा नाकामा ल्याइएका तरकारी नष्ट गर्नु परेपछि व्यापारीले आयात गर्नबाट पछि हटेका हुन् ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १८:४८