एननआरएनए यूरोप क्षेत्रीय बैठक इटालीमा शूरु

इटाली (रोम ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकको औपचारिक उद्घाटन गरिएको छ । बैठक नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको हो ।

बैठकमा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, सचिव डिवी क्षेत्री र जानुका गुरुगं, सहकोषाध्यक्ष सोम सापकोटा, महिला संयोजक रजनी प्रधान, संरक्षक एवम् नागरिकता निरन्तरता कार्यदलका संयोजक राम प्रताप थापा, सल्लाहकार डा. हेमराज शर्मा, साथै अमेरिकाबाट पूर्व अमेरिकाज् क्षेत्रीय संयोजक सोनाम लामा, वर्तमान क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेल,  ओसनीयाबाट संयोजक धर्मराज अधिकारी, एनसिसी अष्टेलियाका पूर्व अध्यक्ष गणेश केसी, मध्य पूर्वबाट संयोजक आर के शर्मा, आइसिसी सदस्य मनोज गोरखाली, श्याम तामांगलगायत सहभागी हुनुहुन्छ ।

साथै कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य,, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु पनि सहभागी हुनुहुन्छ । शनिबार आइतबार गरि दुई दिन चल्ने बैठककै अवसरमा १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउनेछन् ।

बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय प्रतिनिधी सहभागी रहेको आरसी शिव कुमार बरुवालले जानकारी गराउनुभयो ।

बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैर आवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउन सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिने कार्यक्रम तय गरिएको छ । साथै १० अर्बको म्युचुअफल फन्ड, नागरिकतालगायतका विषयमा छलफल गरिने कार्यक्रम  छ । अहिले साँस्कृतिक प्रस्तुति भइरहेको छ ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १४:३७