ऋण तिर्न नसकेपछि भैंसी नै जफत, ऋण चुक्ता गर्छु भन्दाभन्दै भैंसी लखेटियो

जुम्ला: चन्दननाथ नगरपालिका– ७ मिचागाउँका दत्त सार्कीको स्वावलम्बन बैँकबाट गत वर्ष भैंसीपालनका लागि ८० हजार रुपैयाँ ऋण लिए । सार्कीले श्रीमतीको नाममा २०७५ भदौ १० गते स्वावलम्बन बैंक जुम्ला शाखाबाट ८० हजार रुपैयाँ ऋण लिएका हुन् । वार्षिक १२ देखि १८ प्रतिशत व्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झण्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए । भैंसी पालेर दूध बेच्ने केही कमाउने, ऋण तिर्ने परिवार चलाउने आशा उनको थियो ।

तर, सोचेजस्तो भएन, भैंसीले दूधै दिन छोड्यो, आम्दानी घट्दै गयो । ८० हजारको बाँकी किस्ता तिर्ने अवस्था नभएपछि निकै चिन्तित थिए । ६ महिनापछिको किस्ता तिर्न बैंकले ताकेता दियो । किस्ता तिर्न ढिलो गरेको भन्दै स्वावलम्बन बैंकले दत्त सार्कीको भैंसी नै जफत गरेर लगेको छ । ऋण तिर्न नसकेर सम्पत्तिनै जफत गरेको यो जुम्लाको पहिलो रेर्कड हो । उनले ६ महिनामा आधा रकम तिरेका र बाँकी ४५ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको थियो । यो समाचार कारोबार दैनीकमा सागर परियारले लेख्नुभएको छ ।

स्वावलम्बन बैंक जुम्लाका सहायक प्रवन्धक भरतबहादुर बोहोराले ऋणीलाई पटकपटक ऋण चुक्ता गर्न सुझाब दिदा पनि ६ महिना ढिला गरेपछि भैंसी उठाएको बताए । भैंसीपालनकै लागि दिएको ऋण तिर्न नसक्दा त्यही भैंसी जफत गरी ल्याउनु पर्दा दुःख लागेको उनको भनाइ छ ।

जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा स्वावलम्बन बैंक जुम्लाले यहाँका गाउँ गाउँमा समूह गठन गरी लघुवित्त कार्यक्रम अन्र्तगत विभिन्न व्यवसायका लागि ऋण लगानी गरेको छ । स्वावलम्बन बैंक जुम्लाले विभिन्न व्यवसायका लागि ऋण लगानी गरी बार्षिक १२ देखि १८ प्रतिशत व्याजदर उठाउने गरेको छ । स्वावलम्बन बैंकले जुम्लामा बार्षिक १७ करोड २४ लाख कारोबार गर्ने गरेको जनाएको छ । जुम्लामा ५ करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको स्वावलम्बन बैंक जुम्लाका सहायक प्रबन्धक बोहोराले बताए ।

ऋण चुक्ता गर्छु भन्दाभन्दै भैंसी लखेटियो

ऋणी दत्त सार्कीका अनुसार स्वावलम्बन बैंकको ४५ हजार ऋण चुक्ता गर्न बाँकी थियो । उनले ऋण चुक्ता गर्छु भन्दा भन्दै घरमा कोही नभएको समयमा भैंसी लखेटिएको आरोप लगाए । पहिला गाउँमा आएर समूह गठन गर्दा समुदायको जीवनस्तर सुधारका लागि सस्तो ब्याज भनेजतिकै ऋण दिन्छौ केहि अप्ठयारो पर्दैन् भनेर लोभमा पारी ऋण लिएको उनले बताए । तर अहिले तिर्छु भन्दा भन्दै पनि भैंसीनै जफत गरी लिएको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाहरूले शुरुमा नागरिलाई आश्वासन दिएर पछि निकै कडाई, बेइजज्त गर्ने गरेको समेत गुनासो गरे । भैंसीपालन व्यवसायका लागि स्वावलम्बन बैंकबाट २०७५ भदौ १० गते ८० हजार रुपैयाँ ऋण लिएको उनले बताए । ऋणको किस्ता तिर्न ६ महिना जति ढिला भएको हो उनले भने बाँकी रकम एकमुष्ठ चुक्ता गर्नका लागि रकम जम्मा गर्दै थिए एक्कासी घरबाट भैंसी लखेटियो । बैंक वित्तीय संस्थाले आफ्नो स्वार्थ पुरा गरेपछि नागरिकका समस्यालाई नबुझने गरेको गुनासो ।
त्रसित स्थानीय
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा पछिल्लो समयमा डेढ दर्जन बढी वित्तीय संस्था भित्रीएका छन् । वित्तीय सहकारी देखि अन्य निजी बैंकहरू क्रमश भित्रीने क्रम जारी नै छ । यहाँ सहकारी देखि वित्तीय बैंक दुई दर्जन बढी छन् । यस्ता संस्थाले बार्षिक १२ देखि १८ प्रतिशत चर्काे व्याजदर असुल्ने गरेको पाइन्छ । यहाँका स्थानीयले विभिन्न उद्देश्य बनाए वित्तीय संस्थाबाट ऋण लिने र उद्देश्य अनुसार व्यवसाय सञ्चालन गर्ने नाममा ऋण नलिने कोही छैनन् । तर, जुम्लामै पहिलो किस्ता तिर्न ढिलो भएर भैंसीनै लिएपछि भोली हामीलाइ पनि त्यस्तै अबस्था आउने पिरले जुम्लाका स्थानीइ त्रसित भएका छन् ।


प्रकाशित | २६ असार २०७६, बिहीबार १०:१९