उपत्यकाबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद: अधिकांश सुन विमानस्थलबाट बरामद

काठमाडौं : प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट एक किलो सुनसहित तस्करीमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड–५ का ३२ वर्षीय दिन्डुप तामाङ पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नाकामा नियमति जाँच गर्ने क्रममा उनी पक्राउ परे । बा।९ प २७२६ नं। को २०० सिसीको पल्सर मोटरसाइकलमा सवार उनले सुनलाई चार टुक्रामा विभाजन गरी पेटीमा लुकाई काठमाडौं भित्र्याउँदै थिए । घटनाकोे प्रकृति अध्ययन गर्दा उनले पटक–पटक तस्करी गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा टेकराज थामीले लेखेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले घटनाको प्रकृति अध्ययन गर्दा पक्राउ अभियुक्त व्यवसायिक तस्कर भएको देखिने बताए । उनले भने, ‘यसले सुनलाई चारवटा टुक्रामा विभाजन गरेको भेटियो । त्यसलाई कालो टेपले बेरेर कम्बरको पेटीभित्र हालेको देखियो । व्यावसायिक तस्करले मात्रै यस्तो विधि अपनाउँछ ।’

प्रहरीले एक वर्षमा काठमाडौं उपत्यकाबाट मात्रै ३३।४९३९२ किलो सुन बरामद गरेको छ । जसमध्ये २४।२९३९२ किलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको हो । जसलाई विमानस्थलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बाँकी ९।२ किलो सुन भने रसुवा नाका हुँदै भित्रिएका हुन् । उक्त परिणामको सुन भने महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो । हालको बजार भाउ अनुसार बरामद सुनको मुल्य १८ करोड ५० लाख ५३ हजार रुपैयाँ पर्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले परीक्षण गर्ने प्रणाली वैज्ञानिक नहुँदा सुन तस्करी बढेको बताए । उनले भने, ‘प्रहरीको तथ्यांकमा आएको बरामद भएको सुन मात्रै हो । जुन सूचनाका आधारमा पक्राउ परे । पक्राउ नपर्ने सुन झन् धेरै छ । जसको सूचना नै आउँदैन । हामीकहाँ जाँच गर्नै वैज्ञानिक आधार छैन । सबै काम म्यानुअल्ली भइरहेका छन् । जाँचका आधारमा वैज्ञानिक हुँदो हो त बरामद हुने सुनको परिणाम अझ धेरै हुने थिए ।’


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार ०९:२७