उपनिर्वाचन मंसिरमै गर्ने सहमति

काठमाडौं: निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सहमतिको आधारमा आयोगले सरकारसंग परामर्श गरेर चाँडै नै निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

आयोगसंग परामर्श गरेर सरकारको निर्वाचनको मिति तोक्ने कानूनी प्रावधान रहेको छ ।सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दल सहभागी थिए । आयोगको विवरणअनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउन पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार ०९:०३