चीनको व्यापारिक शहर ग्वान्जौमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्दै रक्तदान

ग्वान्जौं (चीन) : दक्षिण चीनको व्यापारिक शहर ग्वान्जौमा रहेका नेपालीहरुले चिनीयाँ भुमिमा नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । लामो समयदेखि अध्ययन तथा बसोबासरत नेपालीहरुले औपचारिक रुपमा पहिलोपटक यति ठुलो परिमाणमा रक्तदान गरियो ।

ग्वान्जौस्थित नेपाली महावाणिज्य दुतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भम्रण बर्ष २०२० को प्रचार प्रसार संगै रक्तदान गरेका थिए । कुल ८८ जना रक्तदातामध्ये ७६ जना नेपाली र बाँकी अन्य बिदेशी पनि रक्तदानमा सहभागी भए । एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेका अनुसार चीनमा ब्यवसाय गर्ने व्यापारी, साउथ चाइना युनिभर्सिटि, ग्वान्जौ नानफाब युनिभर्सिटि र सन यात्सेन युनिभर्सिटि लगायतका बिधार्थीहरु, चिनियाँ नागरिकहरु र केही बिदेशी समेतले रक्तदान दिएका थिए ।

ग्वान्जौ ब्लड बैक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन भएको जानकारी गराउदै सोचेभन्दा बढी रक्तदाताको सहभागिता देखेर प्रसत्रता प्रकट गरेको छ । चीनमा कुनैपनि सामाजिक काम गर्नका लागि सम्बन्धित निकायको स्वीकृति चाहिन्छ । नेपाली संस्थाले रक्तदान गर्ने प्रस्ताव गर्नेबित्तिकै ग्वान्जौ बैदेशिक मामिलाबाट सजिलै अनुमति दिएयो, अध्यक्ष न्यौपानेले बताउनुभयो ।

रक्तदाताका लागि ग्वान्जौ ब्लड बैंक सेन्टरले एक किसिमको कार्ड उपलब्ध गराउने र सो कार्डद्धारा भबिष्यमा चिनका बिभिन्न अस्पतालमा सेवा लिन सुलभ हुने पनि उहाँले बताउनुभयो । उक्त रक्तदान कार्यक्रमको संयोजन एनआरएनए एनसीसी चाइनाका उपाध्यक्ष खुस्बु अग्रवालले गर्नुभएको थियो भने रक्तदाताहरुलाई एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानै, महासचिव यम बहादुर क्षेत्री (ओम) र नेपाली महावाणिज्य दुतावास ग्वान्जौका सहायक कन्सुलर शरद ढुबगानाले कदर पत्र प्रदान गर्नुभएको थियो । नेपालीहरुले दान गरेको यो रगत चीनमै प्रयोग हुनेछ ।

ब्लड बैक सेन्टरको कार्यालय अवस्थित क्षेत्रमा दैनिक हजारौले ओहोरदोहोर गर्ने भएकाले नेपाल भम्रण बर्ष २०२० को प्रत्यक्ष प्रचारमा पनि उत्कृष्ट टेवा पुगेको सहभागिहरुको भनाइ छ । आयोजक सदस्यहरुले नेपाल भम्रण बर्ष २०२० को लोगो अंकित भेष्ट लगाएर रक्तदान कार्यक्रमको संयोजन गरेका थिए ।


प्रकाशित | १० मंसिर २०७६, मंगलवार १५:४८