९ प्रतिशत बढ्यो अपराधको ग्राफ, दैनिक ६ बलात्कार

काठमाडौं: अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५र७६ मा अपराधका घटनामा ९ प्रतिशत वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सार्वजनिक अपराधबाहेक सबै किसिमका अपराधका घटना बढेका छन् । बलात्कार, लागुऔषध, चोरी र बैंकिङ कसुरजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अझ बढेका छन् । प्रहरीको तथ्यांकअनुसार आव ०७५र७६ मा ४३ हजार ४७ मुद्दा दर्ता भएका छन् । त्यसअघिको वर्ष ३९ हजार तीन सय १५ आपराधिक घटना भएका थिए । गत वर्ष दुई हजार दुई सय ३३ वटा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।

जसअनुसार दैनिक औसतमा ६ भन्दा धेरै बलात्कारका घटना हुने गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३।७२ प्रतिशत बढी हो । निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरीसहितका निकायले यस्ता अपराध नियन्त्रणका लागि विशेष अभियान चलाएका थिए । तर, अपराधका घटना झन् बढेका छन् । ‘उजुरी दिनुपर्छ भन्ने चेतना बढेकाले पनि विगतको तुलनामा संख्या बढेको हुन सक्छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् । बलात्कारका थुप्रै घटनामा उजुरी पर्दैन ।

बलात्कारका ६२ प्रतिशत घटनामा बालिकाहरू पीडित भएका छन् । ७९ प्रतिशत बलात्कारका घटना चिनजानकै व्यक्तिबाट र ६ प्रतिशत घटना घरभित्रैबाट भएका छन् । त्यस्तै, चोरीसम्बन्धी अपराध ७६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष एक हजार ६ सय २८ वटा चोरीका घटना भएकोमा गत वर्ष बढेर दुई हजार आठ सय ७४ पुगेको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०७:१९