अख्तियारमा उजुरीकर्ता नै भ्रष्टाचारका आरोपी

काडमाडौं: विकास निर्माणका काममा प्रायः ठेकेदार र कर्मचारीबीच मिलेमतोमै घुस लेनदेन हुन्छ । कहिलेकाहीँ असमझदारी भएपछि मात्र विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्ने गरेको छ । त्यस्तै, एउटा उजुरी गत माघमा अख्तियारमा प(यो । साबिकको जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिडिई लालु गिरीले दुःख दिएर १८ लाख ५० हजार रुपैयाँ लिएको भन्दै एम।के।रवाई।पी।जे।भी।का प्रतिनिधि देवजंग शाहीले आयोगमा उजुरी गरे । त्यसको प्रमाणसहित आयोगले विस्तृत अनुसन्धान गरी गत २३ फागुनमा गिरीविरुद्ध मुद्दा दायर ग(यो ।

तर, जब अदालतमा मुद्दा पुग्यो, शाहीको बोली फेरियो । घुस नभई आफूहरूबीच व्यक्तिगत लेनदेन भएको भनेर उनले बयान दिए । आफैँले दिएको उजुरीविपरीत यसरी अदालतमा गएर बयान फेरेमा त्यो पनि भ्रष्टाचार हुने भ्रष्टाचार निवारण ऐन २०५९ मा उल्लेख छ । विशेष अदालतमा गएर बयान फेरेमा उजुरीकर्तालाई समेत आरोपीका रूपमा मुद्दा चलाउन सकिने प्रावधान सो ऐनमा छ । सोहीअनुसार सोमबार उनीविरुद्ध मुद्दा दायर भएको छ । उनलाई ६ महिनादेखि चार वर्षसम्म कैद र १८ लाख ५० हजार रुपैयाँ जरिवाना माग लिएर आयोगले मुद्दा दायर गरेको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०७:११