नेपाललाई १४२ रनको लक्ष्य

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाललाई कुवेतले जितका लागि १४२ रनको मध्यम लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाउन सक्यो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए । करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

आज नेपाल कुवेतविरुद्ध स्पष्ट जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।

पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । त्यसैले छनोटको शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण रहेको छ ।

छनोटको २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । कुवेत ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ । र, ग्लोबल छनोटको सम्भावना कायम राख्नेछ । कुवेतसँग पराजित भएमा नेपालको ग्लोबल छनोट सकिनेछ ।


प्रकाशित | ११ श्रावण २०७६, शनिबार ०९:०९