नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं:  नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो । मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८ र जिनेन्द्र मुरालेले १४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपाली बलर सामु मलेसियाका खेलाडीहरु खुलेर खेल्न सकेनन् । मलेसियालाई सस्तैमा रोक्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट हात पारे भने दीपक बिहोराले ३ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियाका लागि सचिनु हित्तेजले ३ तथा जिनेन्द्र मुरालेले २ विकेट लिए । योसंगै नेपालले मलेसियालाई लगातार दुई खेलमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्यो । समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १४:५७