४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित

काठमाडौं : पोखरा विश्वविद्यालय र निजी क्याम्पसहरूको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका छन्। विश्वविद्यालय र कलेजले फरक फरक मापदण्डका आधारमा विद्यार्थी भर्ना गरेपछि ३९१ जनाले रजिस्ट्रेसन नम्बर पाएका छैनन्। कान्तिपुर दैनिकका अनुसार रजिस्ट्रेसन कायम नभए विद्यार्थीले परीक्षा दिन पाउँदैनन्। विश्वविद्यालयले सम्बन्धन दिएका ४२ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थीले परीक्षा नि नपाउने भएका हुन्।

विश्वविद्यालयको पछिल्लो प्राज्ञ परिषद् बैठकले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन। उक्त संकायमा भर्ना हुन विश्वविद्यालयले प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड बनाएको थियो तर कलेजहरूले ग्रेडसिटमा कुल ‘सी’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिएका थिए। अक्षरांकन पद्धतिमा कुनै विषयमा ‘डी प्लस’ ल्याए पनि ग्रेडसिट अन्य विषय र प्रयोगात्मक परीक्षाको नम्बर जोड्दा ‘सीभन्दा माथिल्लो ग्रेड प्राप्त गर्ने सम्भावना हुन्छ। कलेजहरूले भने विद्यार्थी संख्या बढाउन कुनै विषयमा ‘डी प्लस’ ल्याएकालाई पनि भर्ना लिएर पठनपाठन गराएका थिए।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०६:५०