यस्तो छ एनआरएन उपाध्यक्ष कुमार पन्त ६० मुलुक घुम्दाको भ्रमण संस्मरण

 घुमफिर गर्न कत्तिको मन पर्छ ?

मलाई घुमफिर गर्न असाध्यै मन पर्छ । धेरै घुमफिर गर्ने व्यक्तिमै पर्छु म । स्वदेश तथा विदेशी मुलुक चहारिरहेको हुन्छु ।

 पहिलेदेखि रुचि थियो कि कमाउन थालेपछि हो ?

पहिलादेखि नै घुमफिरमा रुचि राख्थेँ । पढ्न जर्मनी गएदेखि घुमफिर गर्नेक्रम झन् बढ्यो । छुट्टी हुनेबित्तिकै युरोपको कुनै न कुनै सहरमा पुगिहाल्थेँ । नयाँ ठाउँको अनुभव बटुलिहाल्थेँ ।

 एनआरएनए अभियानमा लागेर पनि धेरै घुम्नुभयो होला ? 

पक्कै पनि । एनआरएनकै कार्यक्रममा हरेक हप्ताजसो विश्वका कुनै न कुनै सहरमा पुगेको हुन्छु । म विश्वका झन्डै ६० मुलुक पुगिसकेँ हुँला । अहिले त हप्तामा एउटा मुलुक पुगेको हुन्छु । धेरजसो दोहोरिन्छन् ।

म युरोपको अधिकांश मुलुक पुगेको छु । युरोपमा नपुगेको देश हंगेरी र आइसल्यान्ड मात्र हुन् । साउथ अमेरिका पुगेको छैन । अफ्रिकाको केही मुलुक पनि पुगेको छु । एसियाका अधिकांश मुलुक पुगेको छु । अस्ट्रेलिया, न्युजिल्यान्ड, मध्यपूर्वका धेरै मुलुक पुगेँ ।

परिवारसँग कत्तिको घुमफिर गर्नुहुन्छ ?

छुट्टीको समयमा घुमिन्छ । वर्षमा दुईपटक परिवारसँग घुमफिर गर्छु । क्रिसमस र समर भ्याकेसनको समय परिवारलाई दिन्छु । बिदामा हप्ता÷दश दिन परिवालाई लिएर बाहिर जान्छु ।

 नेपालको कति ठाउँ घुम्नुभयो ?

नढाँटी भन्नुपर्छ, मलाई नेपालको घुमाइ पुगेकै छैन । यो मनमा बिझिरहन्छ । आफू जन्मिएको मुलुक भएकाले धेरै ठाउँ त पुगिएको छ । तर, पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ घुम्न छुटिरहेका छन् । पोखरा नपुग्ने नेपाली कमै होलान् । पूर्वका धेरै जिल्ला पुगेको छु । पश्चिमतर्फ चितवन, बुटवल, बर्दिया, बाँके, कैलाली, कञ्चनपुरसम्म पुगेको छु ।

 हिमाली भेगमा पुग्नुभएको छैन ?

घुम्न छुटेकै हिमाली भेग हो । कहिले १० दिनजति समय निस्कन्छ भनेर हेरिरहेको छु । समय मिल्नेबित्तिकै रारा हुँदै फोक्सुन्डो पुग्न मन छ । खप्तड मेरो मनमस्तिष्कमा छ । खप्तडका तस्बिर हेर्दा वास्तविक नेपाल खप्तडमा छ जस्तो लाग्छ । पूर्वाधार नभए पनि खप्तड नेपालको स्विट्जरल्यान्ड हो ।

एक वर्षभित्रै परिवारसँग हप्ता/दश दिन खप्तड पुगेर बिताउने रहर छ । समय नमिलेर माथिल्लो भेग नपुगेको हुँ । त्यहाँ पुग्न धेरै समय लाग्छ, समय नै पुग्दैन । हेलिकोप्टरमा गएर ठाउँ टेक्दैमा घुमेको हुँदैन । त्यहाँको प्रकृति, रीतिरिवाज, संस्कृति, चालचलन पनि बुझ्नुपर्छ । अनि मात्र घुमाइको सार्थकता रहन्छ । अब त बाटोघाटो पनि बनिरहेका छन् । घुम्न जान पनि सहज हुँदै छ । एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प जाने रहर छ ।

 विदेशी भूमिबाट फर्किंदा नेपाल कस्तो पाउनुहुन्छ ?

अथाह सम्भावना भएको मुलुक हो नेपाल । तर, वर्तमान अत्यन्तै कठोर छ । नेपालमा धेरै राम्रा गन्तव्यहरू छन्, तर पुग्न कठिन छ । सहजै घुमफिर गर्न खोज्नेहरू त्यहाँ पुग्नै सक्दैनन् ।

नेपालमा स्विट्जरल्यान्डझैँ पूर्वाधार भइदिए विश्वका पर्यटक अन्य मुलुक घुम्न जानै पर्दैनथ्यो । पर्यटनका विविध ‘प्रडक्ट’ नेपालमा छन् । नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन गृहकार्य गर्नुपर्छ । नेपाल अझै पनि परिवार लिएर घुम्न आउने मुलुक होइन । पछाडि झोला बोकेर हातमा लट्ठी लिएर पहाड चढ्ने व्यक्ति आउने मुलुक हो । अब पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण गरेर सबै पर्यटक आकर्षित गर्नुपर्छ ।

 पर्यटनबाट गज्जबको चमत्कार गरेका मुलुक कुन–कुन हुन् ?

मरुभूमि मुलुक दुबई त्यस्तोमा पहिलो नम्बरमा पर्छ । दुबईले पर्यटन र व्यवसाय दुवैलाई क्याच गरेको छ । मरुभूमिमा वार्षिक करोडौँ पर्यटक पुग्छन् । सिंगापुर पनि पर्यटनबाटै चम्कियो । साइप्रसमा पनि पर्यटक ओइरो लाग्छन् । अफ्रिकी मुलुक तान्जानिया, केन्यालगायत मुलुकमा पनि वार्षिक करोडौँ पर्यटक पुग्छन् । युगान्डाजस्ता मुलुकमा ३० लाख पर्यटक पुग्छन् । हामीसँग सम्भावनाको एक प्रतिशत पनि पर्यटक भित्र्याउन सकेका छैनौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाकै नाम सुनेर पनि धेरै पर्यटक आउनुपर्ने थियो ।


प्रकाशित | ३ श्रावण २०७६, शुक्रबार १५:५५