पहिलो पटक नेपाल र जर्मनीबीच राजनीतिक परामर्श

काठमाडौं : नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच पहिलो पटक राजनीति परामर्श भएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भएको बैठकमा संलग्न एक कूटनीतिक अधिकारीले बताउनुभयो ।

दक्षिण एशियाका लागि जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्शमा द्विदेशीय, क्षेत्रीय सम्बन्धमा साथै राजनीतिक एवं आर्थिक विषयमा गहन छलफल भएको उनले बताए ।

परराष्ट्र सचिव शङ्करदास बैरागी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बदलिँदो परिवेशमा नेपालको सामाजिक, आर्थिक उन्नयनका निम्ति ज्ञान र प्रविधि हस्तान्तरणसहित नैतिक तथा भौतिक सहयोगका निम्ति अनुरोध गरेको थियो ।  आयुक्त पोटजेलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध पक्ष र आयामबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीसँग आजै नेपालका लागि युगाण्डा, बोस्निया हर्जगोभिना र साइप्रसका राजदूतहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो । उहाँहरु नयाँदिल्लीमा रहेर नेपाल मामिलासम्बन्धी कार्य सम्पादन गर्नुहुन्छ ।


प्रकाशित | १ श्रावण २०७६, बुधबार १७:३७