एनआरएनए हङकङ अध्यक्ष उम्मेदवार राधिका गुरूङ (टिका) को ६ बुँदे प्रतिबद्धता सार्वजनीक (घोषणापत्रको पूर्णपाठसहित )

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको यही जुलाई २८ तारिखमा हुन लागिरहेको सातौ अधिवेशनको अध्यक्षको उम्मदेवार राधिका गुरूङ (टिका) ले  ६ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको छ । आफनो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरूङले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गर्नुभएको हो । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको गुरूगले बगैचा पार्टी प्यालेस जोर्डनमा औपचारिक उम्मेदवारी घोषणासँगै प्रतिबद्धता पत्र सार्वजनीक गर्नुभएको हो ।

अध्यक्ष राधिका गुरूङले आफनो कार्यकालमा स्थापनाको डेढ दशकसम्म अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुन नसकेको परिप्रेक्ष्यमा छैठौं एशिया प्यासफिक क्षेत्रीय सम्मेलन सफलताका साथ सम्पन्न भएको, सगरमाथा दिवसको अवसरमा नेपाली कन्सुलेट जनरलसंगको सहकार्यमा ‘एभरेष्ट हाइक’को शुरुवात गरिएको जस्ता महत्वपूर्ण कार्य भएकाले सबैको मागअनुसार आफूले पुन आगामी कार्यकालमा पनि उम्मेदवारी घोषणा गरिएको जानकारी गराउनुभयो ।

आफनो कार्यकालमा धेरै वर्षपछि स्थापना भएको कार्यालय सञ्चालनलाई निरन्तरता दिन सफल भएको, विशेष गरेर सम्बन्धित निकायमा संस्थाको विवरण अद्यावधिक गर्ने कार्य धेरै अघिदेखि नभएको पाइएपछि कार्यसमितिले त्यसलाई प्राथमिकतामा राखेर काम गरेको, निकै जटिल र झनझटिलो प्रक्रियालाई पूरा गरी हाल संस्थाको विवरण अद्यावधिक गर्न सफल भएको बताउनुभयो । त्यसै गरी आर्थिक पारदर्शिताको लागि अत्यावश्यक बैंक खाता सञ्चालन गरिएको अध्यक्ष गुरूङको सार्वजनीक गर्नुभएको घोषणापत्रमा उल्लेख छ ।

गुरूङले सार्वजनीक गर्नुभएको घोषणपत्रमा नेपालीका लागि हङकङमा रोजगार भिसा प्रतिबन्ध लागेको डेढ दशक भइसकेको छ । हिजो नेपालको राजनैतिक अवस्था प्रतिकूल रहेको अवस्थामा लागेको प्रतिबन्ध फुकुवाको लागि पहल गर्न आवश्यक भैसकेकोले त्यसका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने बताइएको छ ।

‘साथै बालबालिका, युवा र महिला केन्द्रीत कार्यक्रम सञ्चालनमा ल्याउने छु । नेपाली भाषा तथा साहित्यका लागि भानुजयन्तीलाई अझ प्रभावकारी ढंगले सम्पन्न गर्ने छु’,गुरूङले उल्लेख गर्नुभएको घोषणापत्रमा भनीएको छ,,’नेपालको संविधानमा गैर–आवासीय नेपाली नागरिकता उल्लेख भए पनि ऐनको अभावमा कार्यान्वयन भएको छैन । आवश्यकीय ऐनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्पmत पहल गर्ने छु ।’ हेर्नुहोस घोषणपत्रको पूर्ण पाठ जस्ताको तस्तै ;-

घोषणापत्र

गैर–आवासीय नेपाली संघ हङकङको छैठौं अधिवेशनबाट अध्यक्षको जिम्मेवारी लिएको दुई वर्ष हुन लागेको अवस्थामा मैले घोषणा गरेका र मेरो कार्यकालमा भए गरिएका कामको मूल्यांकन र समीक्षा गर्ने समय भएको छ ।

मैले जिम्मेवारी लिइरहदा मेरा अग्रजहरुले शुरु गरेका असल परम्परा र कार्यलाई निरन्तरता दिन सक्छु कि सक्दिन भन्ने डर लागेको थियो । आज म आपैले पछाडि फर्केर हेर्दा त्यसमा कुनै कमी नभएको महसुस गरेको छु । धेरै वर्षपछि स्थापना भएको कार्यालय सञ्चालनलाई निरन्तरता दिन मेरो कार्यकाल सफल रहेको छ । विशेष गरेर सम्बन्धित निकायमा संस्थाको विवरण अद्यावधिक गर्ने कार्य धेरै अघिदेखि नभएको पाइएपछि मेरो नेतृत्वमा रहेको कार्यसमितिले त्यसलाई प्राथमिकतामा राखेर काम गरेको थियो । निकै जटिल र झनझटिलो प्रक्रियालाई पूरा गरी हाल संस्थाको विवरण अद्यावधिक गर्न सफल भएकोमा गर्व महशुश गरेकी छु । त्यसै गरी आर्थिक पारदर्शिताको लागि अत्यावश्यक बैंक खाता सञ्चालन गरिएको छ ।

सामाजिक ऐन अन्तर्गत दर्ता रहेका संस्थाका लागि बैंक खाता खोल्न फलामको चिउरा चपाउनु सरह रहेको यथार्थ सबैका सामु रहेको छ । यस अवस्थामा अथक प्रयासले एक दशकपछि गैर–आवासीय नेपाली संघ हङकङको नाममा बैंक खाता सुचारु भएको छ । स्थापनाको डेढ दशकसम्म अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुन नसकेको परिप्रेक्ष्यमा मेरै कार्यकालमा छैठौं एशिया प्यासफिक क्षेत्रीय सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । सगरमाथा दिवसको अवसरमा नेपाली कन्सुलेट जनरलसंगको सहकार्यमा ‘एभरेष्ट हाइक’को शुरुवात गरिएको छ ।

 नेपाली भाषा तथा साहित्य प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अघि सारेको भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस मनाउन शुरु गरिएको छ । संस्थाको मूल मन्त्र ‘नेपालीका लागि नेपाली’लाई आत्मसात गरेर अघि बढ्ने क्रममा उद्देश्य अनुरुपका विविध गतिविधि सञ्चालन गर्न मेरो नेतृत्व सफल रहेको दिनको घाम जतिकै छर्लङ्ग छ । कतिपय कामहरु चाहादा चाहदै पनि समय अभावको कारण पूरा गर्न नसकिएकोमा मलाई पछुतो रहेको छ । तिनै बाँकी रहेका कार्य र योजनाहरुलाई अघि बढाउनका लागि अर्को एक कार्यकाल जिम्मेवारी लिने इच्छा र अभिलाषाका साथ अध्यक्षको उमेदवारी  घोषणा गरेकी छु । जुलाई २८ का दिन हुन गइरहेको सातौं अधिवेशनबाट दोश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएमा तपसिल बमोजिमका कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

१. हङकङमा विभिन्न जातीय अल्पसंख्यकका क्लव हाउसहरु रहेका भए पनि अहिलेसम्म नेपाली क्लव हाउस रहेको छैन । स्थानिय तथा नेपाल सरकारसंग समन्वय गरी नेपाल क्लव हाउस स्थापना गर्न पहल गर्ने छु ।

. नेपालीका लागि हङकङमा रोजगार भिसा प्रतिबन्ध लागेको डेढ दशक भइसकेको छ । हिजो नेपालको राजनैतिक अवस्था प्रतिकूल रहेको अवस्थामा लागेको प्रतिबन्ध फुकुवाको लागि पहल गर्न आवश्यक भैसकेकोले त्यसका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने छु ।

३. बालबालिका, युवा र महिला केन्द्रीत कार्यक्रम सञ्चालनमा ल्याउने छु । नेपाली भाषा तथा साहित्यका लागि भानुजयन्तीलाई अझ प्रभावकारी ढंगले सम्पन्न गर्ने छु ।

. नेपालको संविधानमा गैर–आवासीय नेपाली नागरिकता उल्लेख भए पनि ऐनको अभावमा कार्यान्वयन भएको छैन । आवश्यकीय ऐनका लागि अन्तर्राष्ट्रिय समन्वय  परिषदमार्फत पहल गर्ने छु ।

५. नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउँने उद्घोष गरेको सन्दर्भमा उक्त कार्यक्रमलाई सफल बनाउँन हङकङमा विभिन्न गतिविधि सञ्चालन गर्ने छु ।

६. गैर–आवासीय नेपाली संघको मुख्य उद्देश्य नेपालको समृद्धिको लागि सदैव तत्पर रहने छु । यसका लागि विदेशी तथा गैर– आवासीय नेपालीलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नेछु ।

घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रम पूरा गर्ने प्रतिवद्धता जाहेर गर्दै सातौं अधिवेशनका दिन मलाई अमूल्य मत प्रदान गरी विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु ।

राधिका (टीका) गुरुङ
प्रत्याशी अध्यक्ष
सातौं अधिवेशन
गैर–आवासीय नेपाली संघ हङकङ


प्रकाशित | १ श्रावण २०७६, बुधबार १६:२१