त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जनाको अवस्था गम्भिर, उडान अवरुद्ध

काठमाडौँ : त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो । विमान धानमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको बताइएको छ । विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएको छ ।

विमानस्थल कार्यालयका अनुसार बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको र त्यस क्रममा दुई जना यात्रु घाइते भएका हुन । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको विमानस्थल कार्यालयले जनाएको छ । अहिले विमान उडान अवरुद्ध बनेको छ ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार ११:४३