फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

काठमाडौं : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ।

कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ । राष्ट्रपति म्याक्रोंले टेलिभिजनमार्फत्‌ गरेको सम्बोधनका क्रममा पहिलो जित हात पारेपनि पुनः कोरोना भाइरस फर्किनसक्ने चेतावनी दिए । यसै महिनाको सुरुदेखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो ।

लकडाउन हटाइएसँगै अब २२ जुनबाट विद्यालय समेत सञ्चालनमा आउने भएका छन् । राष्ट्रपति म्याक्रोंले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ। सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ ।’

मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन २८ जुनमा गर्ने पनि उनले जानकारी दिएका छन् । उनले भाइरस फैलाउने मुख्य स्थान भन्दै ठूला सभाहरूको आयोजनामा भने कडा रूपमा नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोना भाइरसका कारण २९ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब २ लाख संक्रमित भएका छन । एजेन्सी


प्रकाशित | १ असार २०७७, सोमबार १०:२७