देशका विभिन्न ठाउँ बाढी, पहिरो र डुवानमा, पुर्व पश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं : लगातार परिरहेको वर्षाका कारण मुलुकका विभिन्न ठाउँ बाढी, पहिरो र डुवानमा परेका छन् । अवीरल परिरहेको वर्षाका कारण तराईका धेरै जसो ठाउँ डुवानमा परेका हुन । वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।

त्यस्तै, बागमती, नारायणी कोशी, कमला नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी नदीमा पानीको सतह खतराको संकेतसम्म पुगिसकेको छ । यस्तै बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध पनि गरेको छ ।

रौतहटमा वर्षाका कारण जिल्लाको आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेको हो। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ ।बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

चाँदी, लमहा र झाझ खोलामा समेत बाढी आएको कारण उखु र धान बाली समेत डुबानमा परेका छन चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। उक्त मार्गमा अन्तर्गतको चन्द्रनिगाहपुर चाँदी लचका नजिक गाडी रोकिएको छ।

खोलामा आएको बाढी र वर्षाको पानीले बिहान देखि अवरुद्ध राजमार्गमा केही बेर अघि देखि ठुला सवारी साधन सन्चालनमा आए पनि साना गाडीहरू जिप, कार, मोटरसाइकल भने गुड्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीले जनाए अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्।

लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ ।” बाढीले पु¥याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ । खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पु¥याउने गरेको छ । सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।

जलमग्न जनकपुर

जनकपुरधाम– अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

 


प्रकाशित | २७ असार २०७६, शुक्रबार १०:११