मन्त्रिपरिषद्को आकस्मिक बैठक: जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर

काठमाडौं: सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउँदै त्यसका लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने बताउनुभयो । उहाँले आफूहरु बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने प्रष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरु हुनसक्छन्, पत्रहरु आदानप्रदान हुनसक्छन्, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अग्र्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।”

उहाँले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिनुभयो ।


प्रकाशित | २४ असार २०७६, मंगलवार ११:५६