चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं: संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उहाँहरुको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो । मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो ।

सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको आजै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाई, लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन तथा श्रमिकका समस्या समाधानतर्फ योजनाबद्ध कार्य अघि बढाउने योजना सुनाउनुभएको थियो ।

समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, निरुदेवी पाललगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामका बारेमा प्रश्न गर्नुभएको थियो । राजदूतमा अनुमोदन हुनुभएकामध्ये बङ्गलादेशका लागि राजदूत डा मिश्र नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता हुनुहुन्छ । उहाँ यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भइसक्नुभएको छ ।

कतारका लागि राजदूत अनुमोदित हुनुभएका डा भारद्वाज पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । उहाँले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताउनुभएको थियो । तत्कालीन नेकपा एमालेका सल्लाहकार सदस्य तथा विदेश विभाग सदस्यसमेत रहनुभएका भारद्वाज अङ्ग्रेजी साहित्यका ज्ञाता र लेखकसमेत हुनुहुन्छ ।

अष्टेलियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएको छ । अनुसन्धान, तालीममा लामो अनुभव छ ।

त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन हुनुभएका दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुनुहुनछ । अमेरिकामा अध्ययन गरेर हालै नेपाल नेपाल हुनुभएका उहाँ पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्षसमेत हुनुहुन्छ । रासस


प्रकाशित | २३ असार २०७६, सोमबार २०:५२