विश्वकप क्रिकेट: दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजीत

एजेन्सी: इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ । म्यानचेस्टरमा शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३१५ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र २ छक्कासहित १२२ रन बनाए । यस्तै एलेक्स केरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

मार्कुस स्टोनिस २२ रनमा आउट हुँदा उस्मान ख्वाज्वाले १८ रन बनाए । कप्तान आरोन फिन्च ३ , स्टिभ स्मिथ ७ रनमा आउट हुँदा ग्लेन म्याक्स्वेल १२ रनमा पेभेलियन फर्किए ।

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिए । यस्तै एडिले लक्की र ड्वाने प्रिटोरिउसले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेले । उनले १०० रन बनाए । यस्तै भान डेर डुसेनले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २र२ विकेट लिए । यो हारसंगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलियाले ९ खेलबाट १४ अंक जोड्यो । १५ अंक जोडेको भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो ।

यसै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो र ११ अंक जोडेको न्युजिल्याण्ड चौंथो स्थानमा रहेर सेमिफाइनल पुगेको छ । अंक तालिकामा ७ अंक जोडेको दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । अब अष्ट्रेलियाले सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ । भारतले न्युजिल्याण्डको सामना गर्नेछ ।


प्रकाशित | २२ असार २०७६, आईतवार ०८:०६