विदेशबाट उद्धार गरेर ल्याइने नेपालीलाई राख्न ‘होल्डिङ सेन्टर’ तयार, कुन-कुन ठाउँमा बनाइए ‘होल्डिङ सेन्टर’ ?

काठमाडौँ : सरकारले विदेशमा कोभिड १९ को कारण अप्ठ्यारोमा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्दैछ । शुक्रबार यूएईबाट पहिलो उडान हुनेछ ।

सरकारले शुक्रबारदेखि उद्धार कार्य शूरु गर्ने भएपछि विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ पनि तयार गरेको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको तयार गरिएको हो ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिने भएको छ । काठमाडौँ र भक्तपुरमा एक, एक हजार क्षमताका छन भने ललितपुरमा ९०० क्षमताका छन् ।

सरकारले काठमाडौँको यति पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार गरेको हो । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

तस्विर -रमेश गिरी

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेका छन् । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने गरि तयार गरिएको छ ।

विदेशमा अहिले धमाधम नेपाली राजदूतावासले नेपाल आउँन इच्छुकको नामावली संकलन गरिरहेको छ । मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ ।

युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची बनेको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी गराउनुभयो ।

अध्यक्ष पन्तले नेपाल सरकारले भोलि शुक्रबारदेखि उद्धार गर्न लागेको जानकारी गराउँदै पहिलोपटक बर्माबाट २६ जना काठमाडौं उड्ने पनि उल्लेख गर्नुभएको छ ।

‘त्यहाँबाट ३१ जनाको सूची बने पनि ५ जना स्वास्थ्य प्रमाण पत्र बनाउन नभ्याउनुभएकाले छुट्नुभएको छ’ , अध्यक्ष पन्तले भन्नुभयो, ‘यसैगरी अर्को हप्ताबाट मध्यपूर्व र अन्य क्षेत्रबाट हुनेछ । त्यसैले जो जहाँ हुनुहुन्छ, धैर्य गरिदिन र एकअर्कालाई सक्दो सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछु ।’

नेपाल सरकारले गैर आवासीय नेपाली संघको सहयोगमा विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो । युएईबाट शुक्रबार नै पहिलो उडान हुने सरकारले तयारी गरेको पनि अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार २०:११