श्रीलंकाद्वारा वेष्ट इण्डिज पराजित

एजेन्सी: इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । सोमबार भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको हो । इंग्ल्याण्डको चेस्टरमा श्रीलंकाले दिएको ३३९ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै फाबियन अलेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस गेलले ३५ रन बनाएर आउट भए । त्यस्तै सिम्रन हिटमायरले २९ रन जोड्दा कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले ।

यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए । त्यस्तै कुशल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२ तथा एञ्जेलो म्याथ्युजले २६ रन बनाए । वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए ।

जितसंगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । पराजित वेष्ट इण्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ । वेष्ट इण्डिज पुछारबाट दोस्रोमा रहेको छ।
दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् ।


प्रकाशित | १७ असार २०७६, मंगलवार ०८:५७