प्रदेश ५ मा लागुऔषधविरुद्ध अभियान: दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ

बाँकेः प्रदेश नं ५ मा प्रहरीले लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको छ । अभियान थालेको करिव दुई सातामा अवैध लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा ५० पुरुष, ४ महिला रहेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रदेश नं ५ मा जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । प्रहरीले चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद गरेको उल्लेख छ । त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ०९:३५