मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ । साँझ ५ बजेका लागि बोलाइएको नियमित बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि थप कडाइ गर्ने निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।

साउन ६ मा लकडाउन अन्त्यको घोषणापछि अस्वाभाविक तवरले संक्रमण बढ्न थालेकाले अरू पनि केही प्रतिबन्धात्मक निर्णय हुन सक्ने बताइएको छ ।

यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान, लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा विद्यालय भर्ना खोल्ने निर्णय गरेको थियो ।

लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि सरकार तत्काल लामो दूरीका सवारी साधन र हवाई सेवा भदौ १५ सम्म सञ्चालन नगर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई प्रस्ताव गरेको छ ।


प्रकाशित | २६ श्रावण २०७७, सोमबार १५:१५