एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । अल्डरसटमा आयोजित एक कार्यक्रमकाबीच पुनमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी १४ सेप्टेम्वरमा हुन गइरहेको चुनावमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू गोर्खा लगायतको मुद्धामा आफुले सशक्त र प्रभावकारी रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

गुरुङको चुनावी प्रचारप्रसारको लागि ५ सय १ जना रहेको निर्वाचन प्रचारप्रसार समिति गठन समेत गर्नुभएको छ । कार्यक्रममा गेसो अध्यक्ष कृष्ण कुमार राई, एनआरएन नेता कृष्ण तिमल्सिना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा, तमुधिं युके अध्यक्ष नन्दजङ गुरुङ, व्यवसायी कमल पौडेल, ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष मे (रि) खुशीमान गुरुङ, तमु समाज युकेका अध्यक्ष शीव गुरुङ लगायतको बाक्लो उपस्थिति थियो ।

पछिल्लो सयम नेतृत्वको लागि बेलायतबासी नेपालीमाझ पुनमको चर्चा चुलिएको छ । त्यही चर्चाका कारण गुरुङलाई आगामी निर्वाचनमा बलियो उम्मेदवारको रुपमा लिइएको छ । हाल गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्ष हुनुहुन्छ ।

प्रपटी रेष्टुरेन्टलगायत ब्यवसायमा आबद्ध रहनुभएको गुरुङ एक सफल महिला उद्यमी हुनुहुन्छ । कम बोल्ने र धेरै काममा विश्वास गर्ने स्वभावको गुरुङको यही शैलीलाई लिएर उहाँको योगदानलाई कदर गर्दै आगामी अध्यक्षमा बलियो उम्मेदवारको रुपमा हेरिएको हो ।

पुनम वर्तमान कार्यकालमा उपाध्यक्ष भइरहँदा एनआरएनए यूके उपाध्यक्ष तथा संघसंस्थामा समन्वय विभाग संयोजकको जिम्मेवारीमा हुँदा महत्वपूर्ण योगदान पुरयाउनुभएको थियो । गुरुङले वर्तमान कार्यकालमा आफूलाई योग्य र सक्षम शावित गरेका कारण सबैको रोजाईमा पर्न सफल हुनुभएको देखिन्छ । आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएको गुरुङले पञ्जीकृत सदस्यता विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।


प्रकाशित | ८ असार २०७६, आईतवार २२:२४