काठमाडौँ । नेपाली कांग्रेसले आज ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दै छ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो ।
प्रदेश–१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र पौडेल समूहबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन र सिटौला पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार हुनुहुन्छ भने उहाँलाई पौडेल पक्षका सभापतिका उम्मेदवार गुरूराज घिमिरेले चुनौती दिनु भएको छ । यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । बाग्मती प्रदेशमा संस्थापनबाट सभापतिमा इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिनु भएको छ । गण्डकी प्रदेशमा संस्थापनबाट सभापतिमा अर्जुन जोशीले उम्मेदवारी दिनु भएको छ भने उहाँलाई इतर पक्षबाट शुक्रराज शर्माले चुनौती दिनु भएको छ ।
त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट सभापतिमा भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिनु भएको छ । कर्णाली प्रदेशमा संस्थापनबाट सभापतिमा ललितजंग शाहीले उम्मेदवारी दिनु भएको छ । इतर पक्षबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिनु भएको छ । यहाँ विमलेन्द्र निधी पक्षधरबाट मोतिराज बमले उम्मेदवारी दिनु भएको छ । सुदूरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बन्नु भएको छ भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिनु भएको छ ।
प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो। प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
प्रदेश–२ महाधिवेशनपछि मात्रै
प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन्। कांग्रेस महाधिवेशन काठमाडौँमा मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।
प्रकाशित | १८ मंसिर २०७८, शनिबार १०:२३