कांग्रेसको ४० जिल्लाको नतिजा सार्वजनिक, अन्तिम नतिजा आज साँझसम्ममा आउने

काठमाडौँ –  नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार साझसम्म आउने बताउनुभएको हो ।

संयोजक यादवले भन्नुभयो, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ ।

जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।


प्रकाशित | ८ मंसिर २०७८, बुधबार ०८:२०