गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त हुनु भएको छ । बिहीबार प्रदेशसभामा गुरुङले पेश गरेको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरिदिएपछि पदमुक्त हुनु भएको हो ।

प्रदेशसभामा उपस्थिति ५८ मध्ये गुरुङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको जानकारी गराउनु भयो ।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले विपक्षमा मतदान गर्नु भएको छ ।

उता मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुनु भएको थियो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नु भयो ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १८:१४