आज प्रचण्ड-नेपाल समूहको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ती प्रदर्शन गर्दैछ । संसद् विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो । आज काठमाडौंका नौ स्थानबाट बृहत् जुलुस निकाल्ने कार्यक्रम तय गरेको हो ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार ०७:५२