दश अर्ब कहाँ खर्च भयो ? प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ: गगन थापा

काठमाडौं: सांसद गगन कुमार थापाले कोरोना रोकथामको लागि खर्च भएको भनीएको दश अर्ब खर्चको विवरण माग गर्नुभएको छ । सांसद थापाले आज संसदमा बोल्नुहुँदै भन्नुभयो, ‘हामीलाई अब उत्तर चाहिन्छ, १० अर्ब रुपैयाँ खर्च कहाँ गयो ? यो क्वारेन्टाइन हो कि मान्छे मार्नेस्थल ? हामीलाई जवाफ चाहिन्छ ।’

सांसद थापाले प्रधानमन्त्रीले क्वरोन्टिनमा १ लाख ६६ हजार मान्छे बस्छन् भनेर भन्ने गरेको बताउँदै भन्नुभयो, ‘ यो क्वारेन्टिन होकी मान्छे मार्ने क्याम्प हो, कांग्रेसलाई यसको जवाफ चाहिन्छ । भारतबाट आएका नागरिकमा यस्तो व्यवहार गर्ने ?’ थापाले थप्दै भन्नुभयो, अब पीसीआर नगर्ने ? अब मरेको मान्छेको स्वाब नलिने ? यो अपराधको जिम्मा कसले लिन्छ ? प्रधानमन्त्रीले यस बारेमा संसदमा जवाफ दिनुपर्छ ।

‘पाँचवटा पिसीआर मसिन किन्ने, २५ हजार वटा किट किनेर १० अर्बको हिसाब किताव देखाउनु पर्दैन? हामीलाई एक एक कुराको हिसाब किताब चाहिन्छ,’ नेता थापाले भन्नुभयो, ‘यस्तो राष्ट्रिय विपत्तिका बेला भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’

‘कांग्रेशले मात्र होइन धेरैले सरकारलाई यो गर भनेर सुझाव दियौं, तर न हाम्रो सुन्यो न अदालतको सुन्यो न प्रेसको सुन्यो न नागरिकको सुन्यो, ’ थापाले भन्नुभयो, ‘ कसैको सुनेन । नसुन्दै गर्दा आज हाम्रो नियन्त्रणमा रहँदा रहँदै पनि आज हाम्रो यो अवस्था आयो । यो त्यसै भएको होइन, यसको दोष कस्को ? कानुनले रोकेको हो ? ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो? के अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केवल सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो ।’


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १४:५७