नेपालमा कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन

काठमाडौं/सुरेशकुमार यादव

अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिक टन तरकारी खपत हुने गरेको छ अर्थात् भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिक टन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिक टन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताउनुभयो ।

तर अहिले नेपालमा भारतलगायत अन्य देशबाट तरकारी आयात गर्ने अवस्था छैन । नेपालमै उत्पादन भएको तरकारी खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण तरकारी खपत हुने ४० प्रतिशत बजार समाप्त भएको छ । त्यसले गर्दा नेपालकै तरकारी पर्याप्त रहेको छ । यो बन्दाबन्दीमा देशभरि दैनिक तीन हजार १७० मेट्रिक टन तरकारी खपत हुने गरेको छ । त्यसमा ३० प्रतिशत मात्र भारतबाट आएका तरकारी हुन् । अहिले भारतबाट आउने तरकारी पनि नेपाली व्यापारीले ल्याइरहेका छैनन् । नेपालमा रहेका भारतीय व्यापारीले मात्र भारतबाट मगाइरहेका छन् जो अहिलेको अवस्थामा नेपालमा आवश्यक नै नरहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे बताउनुभयो ।

अहिले नेपालमै पर्याप्त तरकारी छ । बरु भारतबाट आउने तरकारी महँगो हुन्छ तर नेपालको तरकारी अहिले निकै सस्तो रहेको उहाँले बताउनुभयो । नेपालमा उत्पादन भएको सबै तरकारी खपत भएको छैन । १० प्रतिशत तरकारी त्यतिकै खेर गइरहेको छ । लकडाउनअघि भारतबाट ४० प्रतिशत तरकारी कालीमाटी तरकारी बजारमा आउँथ्यो अहिले १७–१८ प्रतिशतमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बन्दाबन्दी सुरु भएपछि जेठ १ गतेसम्म २२ देखि २३ प्रतिशत तरकारी भारतबाट आएको थियो । अहिले १७–१८ प्रतिशतमा झरेको उहाँले बताउनुभयो । अहिले भारतबाट तरकारी नआए पनि नेपालको तरकारीले नै पुग्ने रहेछ तैपनि आलु, प्याज, लसुन, कागतीजस्ता तरकारीजन्य वस्तु भारतबाट केही व्यापारीले ल्याउने गरेका छन्, उहाँले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७.३ प्रतिशतमा तरकारी खेती हुने गरेको छ । यो देशको कुल गार्हस्थ उत्पादनको ८.८ प्रतिशत हो । आलु तरकारी तथा मसला बाली निर्देशनालयका अनुसार कुल कृषियोग्य जमिनमध्ये दुई लाख ९७ हजार १९५ हेक्टर क्षेत्रमा तरकारी खेती गरिन्छ । आजको गोरखापत्र दैनीक


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार ०८:२१