यूरोपभित्र समस्यामा परेका नेपालीलाई सहयोग गर्न ‘५० हजार यूरोको आपतकालिन कोष’ स्थापना गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युरोप क्षेत्रीय समितिले ‘५० हजार यूरोको आपतकालिन कोष’स्थापना गर्दै यूरोपभित्र समस्यामा परेका नेपालीको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिले यूरोपमा रहेका विभिन्न एनआरएनए एनसिसीमार्फत जटिल आर्थिक अवस्था भएकाको तथ्यांक संकलन गर्दै खान, बस्नलाई नै समस्यामा परेकालाई आवश्यक सहयोग गर्न ‘आपत्तकालीन कोष स्थापना’ गर्ने निर्णय गरेको हो ।

एनआरएनए यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यका अनुसार एनआरएनए यूरोप क्षेत्रको क्षेत्रीय बैठकले शूरुमा आपत्तकालीन कोष स्थापना गर्न आर्थिक सहयोग संकलन सँगै यूरोपभरि समस्यामा परेकाको तथ्यांक संकलन गर्ने र त्यसपछि जटिल आर्थिक अवस्था भएकालाई सहयोग गर्ने निर्णय गरेको हो ।

संयोजक आचार्यले यूरोपभरि रहेका सबै एनसिसीसँग तथ्यांक लिने, आार्थिक सहयोग संकलन गर्दै कोष खडा गर्ने र समस्यामा परेकालाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

यूरोपका अधिकांश एनसिसीले नेपाललाई पर्दा सधै सहयोग गर्दै आएको, यूरोप बस्ने नेपालीहरु नेपालमा भन्दा बढी पीडित भएको, सके नेपाल सरकार नभए एनआरएनले सहयोग गर्नुपर्छ भन्ने गुनासो आएकोेले सोही अनुसार अगाडि बढिएको आचार्यले बताउनुभयो ।

संयोजक आचार्यका अनुसार यूरोपमा विभिन्न किसिमका देश रहेकाले विकसित देश भएर पनि स्वास्थ्य सामाग्रीको अभाव छ । यूरोपमा कोरोना भाइरसको कारण बढी प्रभावीत इटाली, पोर्चुगल, स्पेन, माल्टा, पोल्याण्ड, चेक रिपब्लीक, साईपर्समा अन्यको तुलनामा बढी समस्यामा परेको पाइएकाले ती देशमा बसोबास गर्ने नेपालीलाई मध्यनजर गर्दै कम्तिमा खानाबाट कोही वञ्चित हुनु नपरोस भन्ने उद्देश्यले सहयोग गरिने संयोजक आचार्यले बताउनुभयो ।

त्यस्तै, यूरोप क्षेत्रीय समिति बैठकले न्यूनतम ५० हजार यूरोको एक आपतकालिन कोष स्थापना गर्न ११ सदस्यीय सहयोग समिति समेत गठन गरेको छ । यूरोप संयोजक नारायण आचार्य, उप संयोजकहरु कृष्ण प्रसाद तिमिल्सिना, शुक्र राज न्यौपाने र मुक्त बहादुर गुरुङ सम्मिलीत बैठकले यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरु, मानार्थ परिषद सदस्यहरु, एनसिसी अध्यक्ष तथा महासचिवहरु र युरोप क्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक सहयोग समिति गठन गरिएको हो ।

सचिवालय संयोजकमा नारायण आचार्य, उपसंयोजकमा मुक्त बहादुर गुरुङ, शुक्र राज न्यौपाने र कृष्ण प्रसाद तिमिल्सिना तथा आईसीसी सदस्यहरु चिन्तामणी सापकोटा (स्पेन) , आईसीसी सदस्य बिजय मोक्तान (जर्मन), आइसिसी सदस्य रामशरण सिमखडा (यूके), आईसीसी सदस्य सुभाष जोशी (बेल्जियम) आइसीसी सदस्य सुनिल रानाभाट (स्पेन) रहनु भएको छ ।

त्यस्तै, बैठकले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसँगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य बिज्ञहरु रहने गरी डा. बोधराज सुबेदी संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ। समितिले यूरोपका देशहरुको खास समस्याको शुष्म पहिचान गरी लगत राख्न शुरु गर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मुल समितिमा १ हप्ता भित्र प्रतिबेदन  पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रकाशित | २० चैत्र २०७६, बिहीबार २१:०८