गैरसरकारी संस्थाहरुलाई अंकुश लगाउँदै सरकार : स्थानीय तहमा अनुमति बिना कार्यक्रम संचालन गर्न रोक

काठमाडौं: सरकारले गैरसरकारी संस्थाहरुलाई स्थानीय तहमा अनुमति बिना कार्यक्रम संचालन गर्न रोक लगाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनको भनाई छ ।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए ।

मन्त्री पण्डितले संघीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधि भित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम संचालन गर्न लागि परेको दावी गरे ।


प्रकाशित | ५ असार २०७६, बिहीबार १२:२९