हावाहुरीबाट घरबार गुमाएका परिवारलाई सरकारले आवास निर्माण गरिदिने : सेनालाई जिम्मेवारी

काठमाडौं : सरकारले हावाहुरी प्रभावीतलाई घर बनाइदिने भएको छ । हावाहुरीबाट घरबार गुमाएका पीडित परिवारलाई सरकार आफैले आवास निर्माण गरिदिने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वर्षायामअगावै बेघरबार भएकालाई आवास निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराउनुभयो । वर्षाअगावै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नको लागि नेपाल सेनालाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले घर निर्माण गर्नका लागि योजना बनाएर अगाडि बढिने बताउनुभयो । घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय समिति पनि गठन गरिएको छ ।

गत आइतबार बारा र पर्सामा आएको हाहाहुरी आँधीका कारण २८ जनाको निधन र ६०० बढी घाइते भएका छन् भने विपदबाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार ०६:४०