गुठी विधेयकको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा: असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान

काठमाडौं : गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको छ । विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेको जनाएको हो ।

आन्दोलनका कार्यक्रअनुसार असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्ट बजाउने लगायतका विरोधका कार्यक्रम तय गरिएका छन् ।

त्यसैगरी असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्ने लगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी गराउनुभयो ।


प्रकाशित | १ असार २०७६, आईतवार १७:५५