कोपा अमेरिका फुटबल: मेस्सीको टिम अर्जेन्टिना पहिलो खेलमै पराजित

एजेन्सी : उपाधि दाबेदार टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २-० गोल अन्तरले पराजित भएको हो ।

एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासंग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २(० को जित दिलाए । अर्जेन्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड जमाएको अर्जेन्टिनाको आधा दर्जन पोस्ट आक्रमण गोलमा परिणत हुन सकेन् ।

यो जितसंगै समूह ‘बी’ को कोलम्बियाले पहिलो खेलमा ३ अंक जोडेको छ । र, क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्जेन्टिनाले भने हारबाट प्रतियोगिताको सुरुवाती गरेको छ । यो हारसंगै अर्जेन्टिनाको क्वाटरफाइनल यात्रामा धक्का लागेको छ ।

अब अर्जेन्टिनाले दोस्रो खेलमा पराग्वेसंग खेल्नेछ । कोलम्बियाले आमन्त्रित टिम कतारको सामना गर्नेछ । प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रकाशित | १ असार २०७६, आईतवार ०८:०१