भैरहवाका लागि ३३ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा

काठमाडौं:  औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति सुधारका लागि बनाइएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रको रूपमा तीब्र विकास भइरहेको भैरहवाको विद्युत् आपूर्तिलाई सुधार गर्न निर्माण सुरु भएको प्रसारणलाइन आयोजना सञ्चालनमा आएको हो ।   भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३-११ केभीको सवस्टेसनको पनि परीक्षण सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “योगीकुटी सवस्टेसनबाट ४-५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने मागअनुसार विद्युत् आपूर्ति गर्न सकिएको थिएन,” कार्यकारी निर्देशक घिसिङले भने, “योगीकुटी–धकधई प्रसारणलाइन र धकधई सवस्टेसन सञ्चालनमा आएसँगै समस्या समाधान हुने आशा गरेका छौं ।” उनले ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने र नयाँ उद्योगलाई विद्युत् आपूर्ति गर्न सकिने बताए ।

कार्यकारी निर्देशक घिसिङले भैरहवा सेज परिसरभित्र सवस्टेसन नबने पनि तत्कालका लागि धकधई सवस्टेसनबाट ११ केभी लाइनमार्फत् विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३-११ केभी सवस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सवस्टेसन निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सवस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारणलाइन पनि निर्माणाधीन छ ।  यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत योगीकुटी–धकधई प्रसारणलाइन र धकधइ सवस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सवस्टेसन निर्माणका लागि २०७३ साल असोजमा ठेक्का सम्झौता भएको थियो । केही सवस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले जानकार दिए ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार ०९:५७