आगामी वर्ष पाँच लाख युवालाई रोजगारीको ज्ञारेन्टी गर्ने श्रम मन्त्री विष्टको घोषणा

भक्तपुर :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी वर्ष पाँच लाख युवालाई रोजगारीको ज्ञारेन्टी गर्दै नेपाललाई क्रमिक रुपमा रोजगारिमय भएको देशको रुपमा परिचित गराउने बताउनुभएको छ ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री विष्टले वर्तमान सरकारको लक्ष्य देशमा भएको गरिवि तथा अभावको अन्त्य गर्नु भएको बताउँदै नेपाली युवालाई कामसँग जोड्नु मूख्य जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेपालमा बसेर नै आफ्नो पौरखले आत्मनिर्भर गराउने गरी सरकारले काम अघि बढाएको समेत बताउनुभयो ।

कामप्रति सम्मान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम भएको बताउँदै मन्त्री विष्टले सरकारले सामाजिक न्याय, काममा आधारिक सुरक्षाको ज्ञारेन्टी गर्ने बताउनुभयो । उहाँले सूचनाले आम नेपाली युवाहरुले कामप्रति जवाफदेही र जिम्मेवारी बनाउन महत्वपूर्ण भूमिका रहने भएकाले सत्य तथ्य सूचना सम्प्रेषण गर्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

कामबाट नै देश परिवर्तन सम्भव छ भन्ने प्रमाणीत गर्ने बताउँदै मन्त्री विष्टले आगामी वर्ष अझ बढी रोजगारीको व्यवस्था गर्ने, युवाको योग्यता क्षमता अनुसार रोजगारीको व्यवस्था गर्ने बताउनुभयो । उहाँले सरकारको कुनै पनि योजनालाई सफलतामा पुर्याउन सवैको साथ र सहयोग अपरिहार्य रहेको समेत बताउनुभयो ।

भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो ।

कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत भक्तपुरका चारवटा नगरपालिकामा ७ सय जनालाई रोजगारी दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भसँगै भक्तपुर नगरपालिकामा रहेका चारवटै नगरपालिकाको बारेमा जानकारी गराउने मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १९:५१