दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक : राष्ट्रपति भण्डारी

नेपालगञ्ज :  राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताएकी छन । बुधबार नेपालगञ्जमा विश्व वातावरण दिवसका अवसरमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन ।

उनले भनिन, ‘प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध छ । प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्छ । जलवायुसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म सञ्चालन गर्नुपर्ने खाँचो छ ।’

राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गर्दै उनले भनिन, ‘हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ । यसमा सबैको हातेमालो जरुरी छ ।’


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २०:४७