विश्वकप क्रिकेट : बलियो इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । घरेलु टोली इंग्ल्याण्डले नोटिङ्गहममा पाकिस्तानबिरुद्द प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा सानदार जित हात पारेको इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदान उत्रने छ । यता पहिलो खेलमा पराजित भएको पाकिस्तान जितको खोजीमा रहेको छ ।

उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा वेष्ट इण्डिजबिरुद्द ७ विकेटको लजास्पद हार ब्यहोरेको थियो । विश्वकप तयारीको रुपमा यी दुई टोलीले ५ खेलको एक दिवसीय सिरिज खेलेका थिए । जसमा इंग्ल्याण्डले ४ खेल जित्दा एक खेल नतिजा बिहिन रहेको थियो ।

उत्कृष्ट लयमा देखिएको इंग्ल्याण्ड यस संस्करणको उपाधि दाबेदार टोली हो । हालसम्म इङ्ल्यान्डले ३ पटक फाइनलको यात्रा गरेको छ भने पाकिस्तान सन् १९९९ को विश्वकप विजेता हो । इंग्ल्याण्ड र पाकितानले आफ्नो उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने छन् । बलिङ र ब्याटिङमा उत्कृष्ट संयोजक गरेको इंग्ल्याण्ड सोही लयलाई पाकिस्तानविरुद्वको खेलमा समेत निरन्तरता दिन चाहन्छ ।

इंग्ल्याण्डका अल राउण्डर बेन स्ट्रोक्स र पाकिस्तानका बलर मोहमद आमिर, आजको खेलका मुख्य आकर्षण रहने छन् । बेन स्ट्रोक्सले पहिलो खेलमा उत्कृष्ट ८९ रन तथा २ विकेट हात पार्दै उत्कृष्ट पाली खेलका थिए भने आमिरले वेष्ट इण्डिजब्रिरुद्द एक्लैले ३ विकेट हात पारेका थिए । पाकिस्तान पछिल्लो समय लयमा देखिन संघर्षरत छ ।

लगातारको खराब नतिजाले पाकिस्तानी टिम आफैमा दबाबमा देखिन्छ । घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा आत्मबल जोड्न पाकिस्तानलाई अवसर समेत छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १०:१८