चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको बार भत्काउने १६ जना पक्राउ

चितवन : चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार केही व्यक्तिहरुले बुधबार बिहान भत्काएका छन् ।

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको छ । अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशासनलाई दवाव दिएका थिए । भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा छ ।

त्यस्तै, घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । साथै भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरुको भनाई छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०६:५३