कोपा डेल रे: उपाधि लागि आज बार्सा र भ्यालेन्सिया भिड्दै

एजेन्सी: स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा आज उपाधिका लागि ला लिगा च्याम्पियन बार्सिलोना र लिगको चौथो स्थानको भ्यालेन्सिया भिड्दैछन् ।

बार्सिलोना कोपाको सर्वाधिक धेरै ३० पटक जित्ने टोली हो । उपाधि बार्सिलोनाले पछिल्ला चार सिजन लगातार जित्दै आएको छ भने भ्यालेन्सियाले एक पटक मात्र उपाधि जितेको छ । ।

ला लिगामा बार्सिलोनाले पछिल्ला ५ खेलमा ४ खेल जितेर एक खेल हारेको थियो । भ्यालेन्सियाले भने दुई खेल हारेर ३ खेल जितेको थियो । भ्यालेन्सिया पछिल्ला तीन खेलमा लगातार विजयी हुँदै आएको छ ।

आज बार्सिलोनाको टोलीमा पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन, फरवार्ड लुइस स्वारेज, मिडफिल्डर फिलिपे कोउटिन्हो र अर्थुर मेलो, विंगर उसामान डेम्बेलेलगायत प्रमुख खेलाडी हुनेछैनन् । यता, भ्यालेन्सियाको टोलीमा भने आज सबै खेलाडी उपलब्ध छन् ।

च्याम्पियन्स लिगमा नमिठो हार भोगेर अझै पनि पीडामा रहेको बार्सिलोनामाथि आज भ्यालेन्सिया जित निकाल्दै उपाधि जित्ने दाउमा छ । यो सिजन उच्च मनोबलमा रहेको उसले बार्सिलोनामाथि दबाबपूर्ण खेल खेल्दै उपाधि हत्याउन प्रयास गर्नेछ ।

खेल रियल बेटिसको घरेलु रंगशाला बेनिटो भिल्लामरिन स्टेडियममा आज राति नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजेबाट सुरु हुँदैछ ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १४:५४