सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र राखियो

काठमाडौं : सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको चुचुरोमा पुगी उचाइ नाप्ने यन्त्र राखेको छ । टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो । टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) जीपीएस राखेको हो । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ ।

नापी विभागको तर्फबाट रविन कार्की, गाईड छिरिङजाङबु शेर्पालगायतले शिखरमा यन्त्र जडान कार्य सम्पन्न गर्नुभएको हो । शिखरमा यन्त्र जडान गरेसँगै अन्य विभिन्न स्थानमा यस अघि नै राखिएका यन्त्रहरुसँग कनेक्सन गरिएको छ । टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरमा यन्त्र कनेक्सनको काम गरिरहनु भएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १०:२७