दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई संसदीय समितिको निर्देशन

काठमाडौं: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मातहतका विभिन्न निकायको झण्डै  दुई अर्ब बक्यौता असुल्न निर्देशन दिएको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको हो ।

समितिको आज बसेको बैठकले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको वक्यौता  एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुलउपर गर्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठकमा समिति सभापति भरतकुमार शाहले प्राधिकरणले प्रस्तुत कार्ययोजनालाई तदरुकताका साथ कार्यान्वयन गरी नियमितरुपमा प्रगति प्रतिवेदन समितिमा पेश गर्न निर्देशन दिनुभएको थियो ।

सो बक्यौतामध्ये सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु ८१ करोड, सञ्चालनमा रहेका राष्ट्रिय विमान कम्पनीको रु चार करोड, सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको रु चार करोड, सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको रु आठ करोड, सरकारी कार्यालयको रु ५५ करोड, अन्य सञ्चालनम रहेका र नरहेका कक्षहरुको करीब रु ४० करोड बक्यौता रहेको जनाइएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १९:५५