काठमाडौँ : अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदै आएको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिए ।
प्रवक्ता दवाडीका अनुसार, २०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने बताईएको छ । मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो अयोजनाको रुपमा रहेको यो संसद परिसरको कूल निर्माण लागत करिब १० अर्ब रुपियाँ हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०९:०१