तरकारीको भाउ छोइनसक्नु, सबै तरकारीको भाउ दोब्बरभन्दा बढीले बढाइयो

काठमाडौ– बजारमा अहिले बन्दा, घिरौँला, मूला, फर्सी, चिचिन्डो लगायतका सबैजसो हरियो तरकारीको भाउ छोइसक्नु छैन । बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । सबैको भान्सामा प्रयोग हुने रातो आलु गएको हप्तासम्म प्रतिकिलो औसत मूल्य ४८ मा बिक्री हुने गरेको थियो । तर अहिले त्यसको भाउ बढेर ६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै किलोको ४८ रुपैयाँमा बिक्री हुने मुडेको आलुको भाउ ५६ रुपैयाँ पुगेको छ । प्रायः सबैले तरकारीमा प्रयोग गर्ने सानो गोलभेँडाको भाउ पनि सामान्य अवस्थामा भन्दा निकै बढेको छ । किलोमा औसतमा २५ देखि ३० रुपैयाँमा पाइने सानो गोलभेँडा अहिले ४५ देखि ५० रुपैयाँसम्म पुगेको छ ।

यस्तै गएको हप्तासम्म ३० देखि ३५ रुपैयाँसम्ममा पाइने ठूलो गोलभेँडा अहिले किलोमा औषतमा ६५ देखि ७० रुपैयाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातमा पनि धेरै नै मात्रामा भाउ बढेको छ ।

उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्यले तरकारीको भाउ बढेको गुनासो आइरहेको बताउँदै तत्काल अनुगमन गर्ने बताउनुभयो । केही दिन पहिले मात्रै पनि आफूले कालीमाटीमा अनुगमन गर्दा तोकिएको भाउ भन्दा केही बढी लिएर व्यापारीले बेचेको पाइएकाले चाँडो अनुमगन गरिने प्रतिबद्धता जनाउनुभयो ।


प्रकाशित | १८ श्रावण २०७७, आईतवार ०८:५७