आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा

इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिल सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

काठमाण्डूका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्। ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र आर्सनलका नेपाली प्रशंसकहरूको सामूहिक तस्बिर पोस्ट गरेका थिए।ओजिलले ती तस्बिर पोस्ट गरिदिएपछि २८ वर्षीय खतिवडा आश्चर्यचकित भए।

उनले ट्विटरमै ओजिललाई धन्यवाद दिँदै आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेको लेखेका छन्।  अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दै गरेका खतिवडा आफू विगत १० वर्षदेखि ओजिलको  फ्यानू र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन्। उनी आर्सनल फ्यान क्लबका उपाध्यक्ष पनि हुन्।उनी वैशाख १७ गते आधार शिविर पुगेका हुन्। बीबीसी


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १५:३८