चिकित्सकको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नपाइने

काठमाडौं: सरकारले गुणस्तरहीन औषधि विक्री गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बेच्ने औषधि पसलहरुमाथि कडा कारबाहीको चेतावनी दिएका हुन्।

उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए। मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नदिने पनि बताए । प्रेस्किप्सनबिनाको औषधि बेच्न नदिन सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि सुनाए।

उपप्रधानमन्त्री यादवले सरकारले सीधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए। उनले सार्वजनिक खरिद ऐनका आधारमा औषधि किन्दा महंगो पर्ने भएकाले त्यसलाई रोक्ने तयारीमा सरकार लागेको बताए । उनले अब सरकार आफैंले सीधै कम्पनीबाट औषधि खरिद गर्ने तयारीमा जुटेको पनि बताए ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १३:५०